एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा हडर्सफिल्ड टाउनमाथि ५-० गोलान्तरको सानदार जित निकाल्दै सिटी चौथो चरणमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा सिटीका लागि फिल फोडेनले दुई तथा जुलियन अल्भारेज र जेरेमी डोकुले एक-एक गोल गरे ।
सिटीले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । बेन ज्याकसनले हडर्सफिल्डका लागि आत्मघाती गोल गरेका थिए ।
केभिन डी ब्रुयना गत अगस्त यता पहिलोपटक खेल मैदानमा फर्किएका थिए ।
खेलको ३३ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५ मिनेटपछि नै जुलियन अल्भारेजले दोस्रो गोल थपे ।
दोस्रो हाफमा ज्याक्सनले आत्मघाी गोल गरे । ६५ औँ मिनेटमा फोडेनले खेलमा व्यक्तिगन दोस्रो गोल गरे ।
७४ औँ मिनेटमा डी ब्रुयनाले जेरेमी डोकुका लागि गोलको अवसर सिर्जना गरेपछि टोली सहजै चौथो चरणमा प्रवेश गर्न सफल भयो ।