ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा एक सय ८५ तोला बढी सुन संकलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिकाअनुसार पाथीभरा दर्शनमा आएका भक्तजनले हालसम्म कुल एक सय ८५ तोला ३८ लाल सुन चढाएका हुन् ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङकाले संकलित सुनमध्ये ८६ तोला ९३ लाल सुद्ध अर्थात् रिफाइन गरिएको रहेको छ भने बाँकी ९८ तोला ४१ लाल रिफाइन नगरिएको सुन रहेको जानकारी दिए ।
यस्तै, हालसम्म रिफाइन नभएको चाँदी ९२ किलोग्राम ६५० ग्राम संकलन भएको छ ।
समितिले रिफाइन नभएको सुन र चाँदी शुक्रबारदेखि रिफाइन गर्न सुरु गरेको जनाएको छ ।
यता सुन र चाँदी रिफाइन अर्थात् शुद्ध गरिसकेपछि लिलाम बिक्रीको प्रक्रिया सुरु गर्ने योजना रहेको समितिका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए ।
सुन र चाँदी लिलाम बिक्री गरेर प्राप्त हुने रकमलाई समितिको आम्दानीमा बाँधिने उनले बताए ।
पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष अध्यक्ष रक्की थेबेका अनुसार भक्तजनले पाथीभरामा नगदका साथै सुन, चाँदी र अन्य धातुहरूको गरगहना तथा सामग्री चढाउँदै आएका छन् ।