काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहरभवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।
राखेप कार्यकारी समितिका संयोजक एवम् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको हो ।
खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ यस्तो प्रस्ताव गर्ने निर्णय गरिएको राखेपले जनाएको छ ।
विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटल तथा बसोबास खर्चबापत राज्यले ठुलो धनराशि खर्च गर्नुपरेको थियो ।
यो बाध्यता अन्त्य गर्न यो ऐतिहासिक निर्णय गरेको सदस्यसचिव घिसिङले बताए ।
खेलकुद मन्त्री लिम्बुले राखेपको कार्यकारी समितिको प्रस्तावलाई तदारुकता साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।