खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा एक दम्पतीले अनैतिक सम्बन्ध लुकाउन र गरगहना लुटपाट गर्न एक महिलाको हत्या गरेका छन् ।
पक्राउ पर्नेमा ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) रहेका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी-१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या र लुटपाट गरी फरार भएको आरोपमा जालपाका श्रेष्ठ दम्पति पक्राउ परेका हुन् ।
गत मङ्सिर १९ गतेदेखि बेपत्ता भएकी पवित्राको शव १४ दिनपछि माइतीघरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा फेला परेको थियो ।
पतिसँग सम्बन्धबिच्छेद गरेर उनी माइतीघरमा बस्दै आएकी थिइन् ।
चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै पतिसँग खटपट भएपछि नौ महिनाअघि सम्बन्धबिच्छेद गरेर माइतमा बस्दै आएकी थिइन् ।
तीन छोरी र पतिसँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घर बस्दै आएकी थिइन् ।
मङ्सिर १९ गते राति ८ बजेसम्म टेलिभिजन हेरेर बसेकी थिइन् । तर, भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी सुरु गरिएको थियो ।
बेपत्ताको खोजीका लागि परिवारले मङ्सिर २३ गते प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा पवित्राको शव पत्करले छोपेको अवस्थामा फेला परेको थियो ।
पत्करले छोपेको अवस्थामा मृत भेटिएकी पवित्राको भित्री वस्त्रसमेत थिएन ।
अनुसन्धानका क्रममा श्रेष्ठ दम्पतीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पुस–११ गते पक्राउ गरेर पुस–१२ गते जिल्ला ल्याइएको जनाइएको छ ।
आरोपित श्रेष्ठले पवित्राको गत मङ्सिर–१९ गते राति नै हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले योजनाबद्ध तरिकाले पवित्राको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्काले बताए ।
मृतक पवित्राको शव भेटिएकै ठाउँनजिक रगताम्मे भएको एउटा हम्मर फेला परेको प्रहरीले जनाएको छ ।
त्यो हम्मर दीपक आफैँले घरबाट लगेर गएको प्रहरीको भनाइ छ ।
दीपक मङ्सिर १९ गते दिउँसो श्रीमती सिर्जनाका लागि अनलाइन अडर गरिएको सारी लिन भन्दै घरबाट हिँडेर दिक्तेल पुगेका थिए ।
केही सामान नलिइ दिक्तेलबाट मुडेतिर गएका दीपक घटनास्थल पुगेको देखिएको डिएसपी खड्काले बताए ।
दीपक बाँस ढुवानीको काम गर्दै आएका थिए ।
सिर्जना दीपकको तेस्रो श्रीमती हुन् । सिर्जनालाई दिपकले गत असोजमा मात्रै घर भित्र्याएका थिए ।
दीपकको पवित्रासँग पहिलेबाटै अनैतिक सम्बन्ध थियो ।
सिर्जनालाई विवाह गरेर ल्याइसकेपछि पवित्रासँगको अनैतिक सम्बन्ध खुल्ने डरले र पवित्राको गरहनाको लोभले हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
पवित्राको हत्या गरी लुटपाटसमेत गरेका दीपकले कानमा लगाइने रिङ जालपास्थित सहकारीमा ऋण लिनका लागि रु ४० हजारमा धितो राखेका थिए ।
यस्तै, नाकको फुली दीपकको भाइ डम्बर श्रेष्ठबाट रु चार हजार ५०० मा धितो नै राखेका थिए ।
पवित्राको मोबाइल भने सिर्जनाको बुबा केपिलासगढी गाउँपालिका-७ राजबहादुर राईको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि मङ्सिर–३० गते भागेर ललितपुरको महालक्ष्मी नगरपालिका पुगेको अवस्थामा पक्राउ परेका श्रेष्ठ दम्पतीलाई प्रहरीले बरामद गरिएका सामानसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
सिर्जनालाई भने दीपकको कर्तुत लुकाउन सहयोग गरेको कारण पक्राउ गरिएको हो ।
उनीहरू दुवै जनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
सिर्जनालाई भने दीपकको कर्तुत लुकाउन सहयोग गरेको कारण पक्राउ गरिएको हो ।
उनीहरू दुवै जनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।