कार्टुनिस्ट अविन श्रेष्ठलाई अगाडि राखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘मेरो कार्टुन बनाइदिन मिल्छ ?’ भनेर आग्रह गरे । मन्त्रीको आग्रह स्वीकार्दै श्रेष्ठ कार्टुन तयार गर्न थाले ।
यो दृश्य हो, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लबले बिहीबार आयोजना गरेको प्रथम महिला क्यारिकेचर कार्यशालाको । सो कार्यक्रममा कार्टुनिस्ट श्रेष्ठले मन्त्री आलेको कार्टुन बनाएका थिए ।
कार्टुन बनाइरहँदा मन्त्री आलेले बीचबीचमा रमाइलो गर्थे, ‘मेरो कार्टुन बनाउन पनि सजिलै होला । पुक्क गाला र ठुलो भुँडी स्केच गरे त म बनिहाल्छु नि हैन ?’ उनले लाफिङ बुद्धको शरीरमा आफ्नो टाउको जोडिदिँदा पनि आफ्नो कार्टुन बन्छ होला भन्दै रमाइलो पनि गरे ।
कार्टुनिस्ट श्रेष्ठले १५ मिनेटमा मन्त्री आलेको कार्टुन कोरिसके । आफ्नो कार्टुन देखेर उनले प्रतिक्रिया दिए, ‘दुरुस्त बनाउनुभएछ । यो कार्टुन लैजान मिल्छ नि ?’ कार्टुनिस्ट श्रेष्ठले स्वीकृति दिएलगत्तै मन्त्री आलेले आफ्ना सहयोगीलाई आफ्नो कार्टुनलाई गाडीमा राख्न अह्राउनुभयो ।