विश्व ब्याडमिन्टनको वरीयतामा शीर्षस्थान कब्जा गर्दै नेपाली खेलाडी प्रिन्स दाहालले इतिहास रचेका छन् ।
ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्लुएफ) ले मङ्गलबार (जनवरी ११) सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ नेपालका दाहाल शीर्षस्थानमा रहेका छन् ।
दोस्रो स्थानको जस्टिन होलाई आठ सय १० अङ्कले पछि पार्दै दाहाल शीर्षस्थानमा उक्लिएका हुन् । पहिलो पटक शीर्षस्थानमा पुग्न सफल दाहालको १० हजार चार सय अङ्क रहेको छ । उनीभन्दा पछि रहँदै दोस्रो स्थानमा रहेका मलेसियाको होको नौ हजार ५ सय ९० अङ्क रहेको छ ।
विश्व ब्याडमिन्टनमा नेपालले जुनियर र अन्य वरीयतामा पाएको यो सबैभन्दा ठूलो वरीयता हो । विपक्षीविरुद्ध कडा रुपमा उत्रिने दाहालको पछिल्लो समयको प्रदर्शन निकै लोभलाग्दो रहँदै आएको छ ।