इङ्ग्लिस प्रिमियर लिगमा फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलमाथि जित निकालेको छ । शीर्ष स्थानको सिटीले शनिबार भएको खेलमा १० खेलाडीमा सीमित आर्सनललाई २-१ गोलले हराएको हो ।
आर्सनलको घरेलु मैदान इमिरेट्समा एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । ३१औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
५७औँ मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काएका थिए । ५९औँ मिनेटमा गाब्रियलले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई २-१ को जित दिलाएका हुन् ।
जितसँगै शीर्ष स्थानको सिटीले २१ खेलमा ५३ अङ्क जोडेको छ । आर्सनल ३५ अङ्क जोडेर चौथो स्थानमा छ ।