स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच स्वास्थ्य क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको छ ।
मन्त्रालयमा भएको औपचारिक भेटवार्ताका क्रममा नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रका सम्भावित साझेदारीका विषयमा कुराकानी भएको हो ।
भेटका अवसरमा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत सामग्री, प्राविधिक उपकरण र प्रविधिसम्बन्धी सहयोगका लागि धन्यवाद व्यक्त गरिन् ।
उनले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा जापानले गर्दै आएको सहयोगको पनि प्रशंसा गरिन् ।
जवाफमा जापानी राजदूत माएदा तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताअनुसार सहयोग गर्न जापान तयार रहेको बताए । साथै, उनले दुई देशबीचको सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।