१८ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन्। कर्णाली याक्समा अनुबन्ध भएका मिलर बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाल आइपुगेका उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए। ३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलर अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका चर्चित फ्रेन्चाइज लिगमा समेत आफ्नो प्रभाव जमाएका खेलाडी हुन्।
उनले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगलगायत प्रतियोगिता खेलिसकेका छन्। आईपीएलमा दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका मिलर सन् २०२२ मा गुजरातलाई उपाधि जिताउन महत्त्वपूर्ण खेलाडी बनेका थिए।
दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका मिलरले २ हजार ८०४ रन बनाएका छन्। यसक्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। समग्र टी–२० करियरमा भने उनले ५८४ खेलबाट १२ हजार ४३५ रन बनाइसकेका छन्।
सन् २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमै टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेर उनले कीर्तिमान बनाएका थिए। त्यस्तै, आईपीएलमा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमै शतक प्रहार गरेका थिए।
कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपाली क्रिकेटसँगै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
एनपीएलमा तीन खेल खेलिसकेको कर्णालीले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ। जनकपुरलाई १९ रन र विराटनगरलाई चार विकेटले हराएको कर्णाली तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो।
अब कर्णालीले शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा मिलर मैदान उत्रिने अपेक्षा गरिएको छ।