डोल्पा । जिल्ला कारागार डोल्पाबाट फरार भएका कैदीमध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू त्रिपुरासुन्दरी नगरपालिका–४ रङ गाउँस्थित एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार कात्तिक १४ गते बिहान कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा कमला बुढाको घरमा लुकेर बसेका उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन्।
रोकाय जबर्जस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय पाएका कैदी हुन् भने परियार नकबजनी चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन्।
यसअघि प्रहरीले फरार भएका अन्य दुई कैदीलाई पनि पक्राउ गरिसकेको थियो। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोष सिंह राठोरका अनुसार कारागारबाट फरार भएका आठ जनामध्ये हालसम्म चार जना पक्राउ परिसकेका छन्। बाँकी चार जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।