विराटनगर । विराटनगर घर भएका मनिष तिमल्सिना विदेशी राष्ट्रिय टोलीमा प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । लामो समयदेखि गोलकिपिङ प्रशिक्षणमा संलग्न रहेका मनिष अफगानिस्तान राष्ट्रिय फुटबल टोलीका गोलकिपर प्रशिक्षक बनेका हुन् ।
यससँगै उनी विदेशी राष्ट्रिय टोलीमा प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका हुन् । मनिषले विभिन्न उमेर समूहका टोलीदेखि लिएर मनाङ मस्र्याङदी क्लबसम्म काम गरिसकेका छन् । तिमल्सिनाले यसअघि पनि भारतका चर्चित क्लबहरूमा गोलकिपर प्रशिक्षकका रूपमा काम गर्दा उत्कृष्ट परिणाम दिएका थिए ।
उनीसँग भारतीय क्लब पन्जाब एफसी र गोकुलम केरलालाई गोलकिपिङ प्रशिक्षण दिएको अनुभव मात्र छैन, उपाधि जित्दाको खुसी पनि छँदै छ । आइलिग टोलीमा कुनै पनि प्रशिक्षकका रुपमा आबद्ध भएका पहिलो नेपाली बन्न सफल मषिले गोकुलम केरलाबाट भारतीय आई लिगको उपाधि जितेका थिए ।
गोकुलम केरलाले २०२१–२२ को सिजन आई लिग जित्दा मनिष गोलकिपर प्रशिक्षक थिए । एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गरेका तिम्सिनाले नेपाली राष्ट्रिय फुटबल टिमको पनि गोलकिपर प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
तिम्सिनाले धरानको एन्फा टेक्निकल सेन्टरको एकेडेमीमा रहेर पनि प्रशिक्षण गराएका थिए । तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली हुन् । तिम्सिनाले खेलाडीका रूपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्मु, ब्रिगेड ब्वाइजबाट खेलेका छन् ।
उनको नियुक्तिले नेपाली फुटबल प्रशिक्षकले अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पनि पाएको छ ।
अफगानिस्तानले ताजकिस्तानमा काफा नेसनल कप खेल्दै छ । उक्त प्रतियोगितामार्फत उनले गोलकिपर प्रशिक्षकको भूमिकामा डेब्यु गर्नेछन् । उक्त टोलीको नेतृत्व नेपाली राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक भिसेन्जो एनेसले गरिरहेका छन् ।
आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म ताजिकिस्तान र उज्बेकिस्तानमा हुने काफा नेसन्स कप फुटबल प्रतियोगितामा इरान, अफगानिस्तान, तुर्किमेनिस्ता र किर्गिस्तान छन् । यस्तै, भारत र ओमानले पनि सहभागिता जनाउँदैछन् ।