विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धन गरेर अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा लगातार दुई जित दर्ता गराए । २०७४ सालको निर्वाचनमा एमालेसँग एकता गरेर बनेको नेकपाबाट चुनाव लडेका मोदीले कांग्रेसका महेश आचार्यलाई हराए । २०७९ सालमा भने कांग्रेससँग गठबन्धन गरी एमालेका विनोद ढकाललाई पराजित गरेका मोदीले केही समय सामान्य प्रशासन मन्त्रालयसमेत हाँक्ने अवसर पाए । त्यसअघि २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक संसद निर्वाचित बनेका मोदी यसपालि पनि चुनावी दौडमा छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ¬–४ मा मोदीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका छन् । एक्लाएक्लै दलहरू चुनावी प्रतिस्पर्धामा उत्रिँदा मोदीसँग तीनवटा कुराको अभाव छ । एउटा हो, गठबन्धनबिहीन । दोस्रो घट्दो जनविश्वास अनि तेस्रो नयाँ दलको प्रभावशाली आगमनबाट गुमेको ‘आत्मविश्वास’ ।
तत्कालीन माओवादीले २०७४ मा एमालेसँग र ७९ मा कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्दा मोदीलाई दुई पटक नै चिट्ठा परेको जस्तो बुझिन्थ्यो । तर, यसपालि भने मोदीलाई चुनावमा अफ्ठेरो पर्ने देखिएको छ । एकातिर बिनागठबन्धन चुनावमा जानु परेको छ भने अर्कोतिर नेपालभरि वैकल्पिक पार्टीको खोजी भइरहेको बेला मोदीकै क्षेत्रमा उनको खासै चर्चा सुनिँदैन । खासगरी तीन पटक सांसद भइसक्दा पनि जनताको मुद्दा नसुनेको गुनासो आम मतदातामा कायमै छ ।
दुई चोटी सांसद भएका मोदीको संसदीय छवी पनि खासै राम्रो मानिँदैन । संसदमा उनको हाजिरी न्यून रहेको बुझिन्छ भने उनी सार्वजनिक लेखा समितिमा हुँदा उच्च भोल्टेज विद्युत प्रसारण लाइन सार्न मद्दत गर्न पाँच लाख घुस मागेको आरोप पनि लाग्यो । यसका साथै उनले कुलमान घिसिङमाथि पनि राजनीतिक हमला गरेको आरोप लागेको छ । कुलमान घिसिङ महानिर्देशक हुँदा उनीमाथि बिनाकुनै प्रमाण भ्रष्टाचार गरेको आरोप लगाएका थिए । जुन कुरा पछि पुष्टि हुन नसकेपछि देशभरि नै उनको विरोध भएको थियो ।
मोदी सांसद हुँदा स्थानीय समस्याभन्दा पनि केबल भाइरल हुन बेतुके प्रश्न गर्ने गरेको पाइन्छ । उनले संसदबाट नेपालले आणविक बम बनाउने योजना छ कि छैन भनेर रक्षामन्त्रीलाई सोध्दा उनको क्षेत्रका किसानहरू मल नपाएर भौतारिरहेका थिए । यसरी हेर्दा उनलाई किसान र आफ्नो क्षेत्रको जनताहरूको समस्या भन्दा हिट र भाइरल हुन संसदमै स्टन्ट गर्ने गरेको भनेर मान्छेहरूले भन्ने गरेका छन् । सदनकै कुरा गर्दा मोदी संसदको कुर्सी तोड्ने सांसदमध्येका एक हुन् ।
२०७१ माघ ६ गते संविधान सभा बैठक एकाएक रण मैदानमा परिणत हुँदा मोदीसहितका सांसदले कुर्सी तोड्ने र माइक फोड्ने जस्ता लज्जास्पद काम गरेका थिए । त्यीमध्येका एक थिए, मोदी । जो त्यतिबेला २८ वर्षको उमेरमा संविधानसभा सदस्य बनेका थिए ।
मोदीका सानाठुला जस्ता विवाद भए पनि सो क्षेत्रका स्थानीय उनलाई नजिकका नेता मान्छन् । यसको कारण एउटै मात्र छ, मर्दा–पर्दा उनी पुगिदिन्छन् । कसैका लागि बोलिदिन्छन् । यति सांसद बन्न यतिले पुग्दैन । बरु, संसदमा आफूहरूका समस्या राखिदिने र समाधानका लागि पहल गरिदिनुपर्छ भन्ने सचेत आम मतदाताले बुझेका छन् ।
अनि, अर्को कुरा । मोदीको पकड क्षेत्र भनेको ग्रामथान हो । तर, यसपटक भने मोदीको ‘गाउँ प्रभाव’ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनपछि खस्किएको छ ।
गाउँपालिका अध्यक्षमा नमोनारायण माझीलाई जिताउन अहम् भूमिका निभएका मोदीलाई उक्त जित ‘गलपासो’ नै साबित भएको छ । निर्वाचित भएर गएपछि नमोनारायणले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिँदो छ । विकासको नाममा सिन्को पनि नभाँचेका अध्यक्ष माझी पटक–पटक उपाध्यक्षसहितका वडाध्यक्षहरूसँग झगडिन्छन्, अड्डा–अदालत धाइरहने बाटो खोजिरहन्छन् ।
उनी न आफूलाई जिताउने मोदीको कुरा सुन्छन् न त स्थानीय अरू नेता–भद्रको नै । अझ, तेतरिया बजारको बस्ती हटाउने कुरामा माझीले एक्लौटी अडान लिँदा मोदीसमेत विवादमा मुछिएको अझै स्थानीयले बिर्सिएका छैनन् । यी र यावत कारण माझीसहित नेकपाप्रति नै ग्रामथानका स्थानीय रुष्ट छन् । त्यो रुष्टताले निर्वाचनमा मोदीलाई अफ्ठेरोमा पार्ने निश्चितप्रायः नै छ । यसै पनि ग्रामीण भेगको मत बाँडिने र त्यसको फाइदा एमाले–कांग्रेसका उम्मेदवारलाई हुने पक्कापक्की छ । यसै क्षेत्रमा पर्ने विराटनगरबाट मोदीले पुरानै मत गुमाउने सम्भावना बलियो छ । हिजो गठबन्धनको बलमा जितेका मोदीले यस पटक आफ्नै व्यक्तिगत प्रभावले चुनाव जित्छन् वा दुई घिमिरेले उहाँको यात्रामा ब्रेक लगाउँछन्, त्यसका लागि निर्वाचनको परिणाम कुर्नुपर्ने हुन्छ ।
मोदीसँगै चुनावी मैदानमा कांग्रेसका महामन्त्रीसमेत रहेका गुरुराज घिमिरे, नेकपा एमालेका जीवन घिमिरे अनि रास्वपाका सन्तोष राजवंशी चुनावी मैदानमा छन् । २०७९ सालको निर्वाचनमा पाँच हजार मत कटाएका रास्वपाका नेत्रप्रसाद शिवाकोटीलाई साथ लिएर पत्रकारिता छोडेका राजवंशी पनि चुनावमा होमिएपछि रोचकता थपिएकै छ । रास्वपाको बढ्दो जनलहरले मत विभाजनमा उल्लेख्य काम गर्नेमा कुनै दुईमत छैन ।
यता, कांग्रेसका गुरुराज र एमालेका जीवन पार्टीमा राम्रो स्थान हासिल गरेका नेता मानिन्छन् । तर, दुबैको अघिल्लो निर्वाचन सम्झनलायक रहेन । उनीहरू दुवैले २०७९ को चुनावमा प्रदेशसभातर्फ पराजय बेहोरेका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरुराज र एमाले केन्द्रीय सदस्य बनेका जीवन दुवै नेता यस पटक मोदीको किल्ला भत्काएर आफ्नो राजनीतिक साख फर्काउने दाउमा छन् ।