विराटनगर । नेपाली चलचित्र जात्रा शृंखलाको तेस्रो कडी हो, महाजात्रा । यस ‘सिक्वेल’ को पहिलो कडी जात्रा र दोस्रो जात्रैजात्रालाई दर्शकले औधी मन पराइदिए ।
सोही कारण हौसिएको निर्माण पक्षले ‘महाजात्रा’लाई विश्वका विभिन्न देशमा बेग्लाबेग्लै वितरकमार्फत एकै साथ प्रदर्शन थालेको छ ।
प्रदीप भट्टराईको निर्देशन र कथा लेखनमा बनेकोको महाजात्राको कथाको केन्द्रमा उही तीन शीर्ष पात्र फणीन्द्र (विपिन कार्की), जोयस (रवीन्द्र सिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) छन् ।
जीवनलाई उकास्न पैसा प्राप्तिको प्रयत्नमा रहेका उनीहरू यसपालि जब कालोधनको रूपमा आर्जित अरूको पैसासँग जोडिन्छन्, तब परिस्थिति अनपेक्षित रूपमा फेरिन्छ ।
कालोधन लुकाउन राजनीतिमा लागेका व्यक्तिहरूले के कस्तो परिपन्च गर्छन् र ती गतिविधिले समाजमा कस्तो असर पारिरहेको हुन्छ भन्ने कुराको सन्देश यसले दिन्छ ।
अरूको अकुत सम्पत्ति लुकाउन गरेका अनेकन् प्रयास वरिपरि यो चलचित्र रुमलिएको छ ।
यो चलचित्रमा १० किलो सुनको प्रलोभनमा अनेक कष्ट सहेका फणीन्द्र, जोयस र मुन्नालाई ‘महाजात्रा’ सम्म आइपुग्दा पनि गरिबी, बाध्यता र विवशताले छाड्न नसकेको कुरा देखाइएको छ ।
यी तीन पात्र फेरि कालो धनको चंगुलमा फस्दै गएको भए पनि चलचित्रमा यो कुरा उनीहरूलाई थाहा नभएको देखाइन्छ ।
जब पैसाले भरिएको गाडी लुकाउनुपर्ने अवस्था आउँछ त्यसपछि तीन जनाको जीवनमा अनेकन् उतारचढाव आउन थालेका दृश्य चलचित्रमा रहेका छन् ।
नेता पुण्यप्रसाद (हरिवंश आचार्य) सँग अकुत धन हुन्छ । त्यही पैसाको आडमा उनी आफ्नो राजनीति चलाइरहेका हुन्छन् ।
चुनाव जितेर प्रधानमन्त्रीसम्म बन्ने उनको सपना हुन्छ ।
धन त छ तर राम्रो काम गरेर कमाएको धन भएन त्यसलाई पचाउन कहाँ सजिलो हुन्थ्यो । त्यसमाथि त्यो कालो धनलाई जोगाउनु पर्ने उनको अर्काे संकटको अवस्था चलचित्रमा देखाइएको छ ।
यही तनाव र तीन जनाको उतारचढावका दृश्यसँग यो चलचित्र अड्किएको छ । पुण्यप्रसादको सम्पत्तिलाई कसरी लुकाउने भन्ने काम फणीन्द्र, जोयस र मुन्नाको काँधमा आउँछ ।
यी तीन जना व्यक्ति पुण्यप्रसादको कालो धनले भरिएको गाडीलाई लुकाउनु पर्ने बाध्यतामा झेलिएका छन् । फणीन्द्रलाई आफ्नो परिवार अझ सम्पन्न बनाउनु छ ।
फणीन्द्र आफ्नो पेसा र पारिश्रमिकसँग सन्तुष्ट छन् तर फेरि पनि उनी गाडीभरिको पैसासँग ठोक्किन्छन् ।
त्यसपछि उनीहरूसँग ठोक्किन आइपुग्छन्, नेता पुण्यप्रसाद र कालोबजारी गर्ने गुन्डा (शिशिर बाङ्देल) ।
यता चलचित्रका अर्का पात्र भाइरल प्रहरी निरीक्षक खत्री (दिव्य देव) लाई ठुलो माछो समात्नु छ ।
उनको ठुलो माछा समाउने सपना कसरी पूरा हुन्छ भन्ने कुराले पनि चलचित्रको कथामा अनेकन् मोड ल्याउने काम गरेको छ ।
आमनागरिकले राज्यले तोकेको कर तिर्छन् तर कर तिरेपछि राज्यबाट पाउनु पर्ने सेवा सुविधा पाउँदैनन् ।
राजनीतिमा लागेकाले भने अकुत सम्पत्ति कमाएका हुन्छन् भन्ने कुरालाई चलचित्रमा राम्ररी अर्थ्याइएको छ ।
मध्यान्तरअघिसम्म चलचित्रले दर्शकलाई हाँसो र त्यसपछि चलचित्रमा हाँसोसँगै धेरै रोदनका दृश्य मिसिएका छन् ।
चलचित्र पूर्ण रूपमा मनोरञ्जनात्मक र पारिवारिक बनेको छ ।
अवैध धन्दाका नाइके, प्रहरी प्रशासन अनि अपराधको यो भूमरीबाट उम्कन यी तीनले गर्ने संघर्ष निर्देशक प्रदीप भट्टराईले ‘जात्रा’का हरेक शृंखलामा दोहोर्याएका छन् ।
यो फिल्मले दर्शक हसाउन दुईअर्थी संवाद, लिंग र जातमाथि उत्ति भद्दा मजाक गरेको छैन । फिल्मको अर्को बलियो पक्ष यो हो ।
संवाद प्रधान यो फिल्ममा पात्रहरूले जबरजस्त बोलेरै दर्शक हसाउँछन् । मध्यान्तरअघिसम्म त संवादले दर्शकलाई हासोमा बाँधेर राख्छ ।
तर, अन्त्यतिर भने दर्शकलाई रुन बाध्य तुल्याउँछ ।