दक्षिण एसियाली मुलुकमध्ये भुटान कोरोना महामारीबाट कम प्रभावित राष्ट्र हो ।
भुटानमा अहिलेसम्म चार हजार ६८५ जना सङ्क्रमित भएका छन् भने चार जनाको मात्रै मृत्यु भएको छ ।
पछिल्लो शुक्रबार भुटानमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो ।
उनी नियमित रूपमा डायलसिस गराउँदै आएकी मिर्गौला बिरामी रहेको भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले बताएका छन् । लोतेले कोभिडका कारण जनता मर्दा गोली लागेजस्तै अनुभूति हुने जनाएका छन् ।
सामाजिक सञ्जालमा लामो सन्देश पोस्ट गर्दै प्रधानमन्त्री छिरिङले भनेका छन्, ‘महामारीविरुद्धको लडाइँकै बीच हामीले हिजो एक महत्त्वपूर्ण जीवन गुमाउएको थाहा पाउँदा गोली लागेझैं भएको छ ।
उहाँ डायलसिस गराउँदै आउनु भएकी मिर्गौला बिरामी हुनुहुन्थ्यो । एक जना प्रिय साथी गुमाउनुपर्दा पूरा देश नै दुःखी छ ।’
प्रधानमन्त्री छिरिङले अगाडि भनेका छन्, ‘कोरोना महामारीविरुद्ध एक अथक लडाइँ लड्दै हामीले प्रत्येक भुटानी नागरिकको जीवन बचाउनुपर्छ र सक्नुपर्छ ।’ भुटानमा पहिलो पटक सन् २०२० मार्चमा कोरोना पुष्टि भएको थियो ।
भुटानमा कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी कदम चालेको बताइन्छ ।
करिब आठ लाख जनसङ्ख्या भएको भुटानमा योग्यमध्ये अधिकांशले खोप लगाइसकेका छन् ।