विराटनगर । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचना आफ्नै खर्चमा मर्मत गर्ने भएको छ ।
खुलामञ्चलाई पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले ४५ दिनको समयसीमा निर्धारण गरेको छ ।कांग्रेसले असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा महाधिवेशनका कार्यक्रम आयोजना गरेको थियो ।
सोही क्रममा क्षति पुगेका संरचनाको मर्मत तथा पुनर्स्थापनाका लागि काठमाडौं महानगरपालिकाको नियम र मापदण्डअनुसार सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई जिम्मेवारी दिइएको छ ।
मर्मतसम्बन्धी सम्झौतापत्रमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन् । सम्झौताका क्रममा कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा उपस्थित थिए ।
सम्झौताअनुसार क्षति पुगेका स्थानको जमिन सम्याएर उच्च गुणस्तरको दुबो रोप्ने तथा प्राविधिक रेखदेखमा सिँचाइ र उचित स्याहार गरिनेछ ।
पुनर्स्थापनाका लागि तोकिएको ४५ दिनमध्ये पहिलो १५ दिनमा दुबो रोप्ने र बाँकी ३० दिन त्यसलाई हुर्काएर खुलामञ्चलाई हराभरा बनाउने योजना छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव दुलालका अनुसार मर्मत तथा पुनर्स्थापनामा लाग्ने सम्पूर्ण खर्च पार्टीले नै व्यहोर्नेछ ।