काठमाडौं । प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका छन्। बुधबार उनलाई कोषका कर्मचारीसहित सदस्य सचिव डा. नरेश सुवेदीले स्वागत गरेका थिए।
कानुनी व्यवस्थाअनुसार कोषको संरक्षक प्रधानमन्त्री हुने र अध्यक्ष नियुक्त गर्ने अधिकार पनि प्रधानमन्त्रीमै रहने प्रावधान छ। सोही आधारमा १ चैतमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकाल सकिन लाग्दा श्रेष्ठलाई पाँच वर्षका लागि नियुक्त गरेकी थिइन्।
उक्त निर्णयको विभिन्न पक्षबाट आलोचना भए पनि पुनर्विचार नगरी कार्यान्वयन गरिएको हो। यसैबीच, बालेन शाहले १३ चैतमा प्रधानमन्त्रीका रूपमा शपथ लिँदै कार्कीको कार्यकाल अन्त्य हुने बताइएको छ।
जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारको नेतृत्व गरेकी कार्कीले आफ्नै स्वकीयलाई लाभको पद दिएको भन्दै आन्दोलनका अगुवाहरूले निरन्तर विरोध जनाउँदै आएका छन्।