काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा भीम आचार्य धरौटी बुझाएर रिहा भएका छन्।
सोमबार विशेष अदालतमा उपस्थित भएका आचार्यसँग न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले २ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार आचार्यले तोकिएको धरौटी रकम बुझाएर रिहा भइसकेका छन्।
‘उहाँसँग २ लाख ५० हजार रुपैयाँ धरौटी रकम माग भएको थियो, उक्त रकम बुझाएर उहाँ गइसक्नु भयो,’ उनले भने।
आचार्य पर्यटनमन्त्री रहेका बेला विमानस्थल निर्माणको लागत अस्वाभाविक रूपमा बढाएर अनियमितता गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ।
आयोगले गत मंसिर २१ गते आचार्यसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।