विराटनगर — विराटनगरमा बिहे घरमा काम गर्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–११ जनप्रिय टोलस्थित रवीन्द्र साहको घरमा छोरीको विवाहमा काम गर्न गएकी ५२ वर्षीय मारङमही हेमरनको करेन्ट लागेर मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता लिलाराज लामिछानेका अनुसार विवाह घरमा जोडिएको झिलिमिली बत्तीको तारबाट मंगलबार दिउँसो करिब ४ बजे करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्।
घाइते अवस्थामै उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
प्रहरीका अनुसार क्याटरिङको जिम्मा लिएका व्यक्तिले उनलाई काम गर्न विवाह घरमा ल्याएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।