विराटनगर । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पहलमा विद्युत क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको जनताले बुझेको बताउँदै अब मुलुकका अन्य क्षेत्रमा रहेको “लोडसेडिङ” अन्त्य गर्ने बताएका छन् ।
विराटनगरमा बिहीबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले राजनीतिक लगायतका क्षेत्रमा देखिएको लोडसेडिङ अन्त्यका लागि राजनीतिक अभियान सुरु गरेको बताए ।
देशको समग्र परिवर्तन, सुशासन र आर्थिक आत्मनिर्भरतालाई केन्द्रमा राख्दै ५ वर्षभित्र ठोस परिणाम दिने उनको दाबी छ ।युवा पुस्ताको साथ र सहभागिताले मात्रै देशको रूपान्तरण सम्भव हुने बताएका हुन् ।
घिसिङले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को पार्टी सम्पर्क कार्यालय उद्घाटन पनि गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीका तर्फबाट देशभर संयुक्त रूपमा उम्मेदवारी दिइएको बताए ।
उनेपाले मोरङ ६ मा वसन्त बुढाथोकीलाई उम्मेदवार बनाएको छ । यहाँबाट नेपाली कांग्रेसका डा. शेखर कोइराला, नेकपा एमालेका विनोद ढकाल, रास्वपाकी रुबिना आचार्यलगायत चुनावी प्रतिस्पर्धामा छन् ।