विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएकी विराटनगरको जेम्स इन्टरनेसनल स्कुलकी छात्रा नगदसहित सम्मानित भएकी छन् । एसइईमा ४ जिपिए ल्याएर उत्कृष्ट सफलता हासिल गरेकी श्रीजी पोखरेललाई सोमबार स्कुलले २१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
विराटनगर–३ पोखरियाकी घर भएकी पोखरेललाई उनको उत्कृष्ट शैक्षिक उपलब्धिको सम्मानमा स्कुलले अभिर लगाएर सम्मानपत्रले सम्मान गरेको हो । सम्मानपछि बोल्दै उत्कृष्ट अंक हासिल गरेकी श्रीजीले स्कुलको शैक्षिक वातावरण र शिक्षकको सहयोगले आजको सफलता चुमेको सुनाइन् ।
यस वर्ष जेम्स स्कुलबाट कुल २६ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा पोखरेलले पूर्ण अंक ल्याएकी हुन् । उनीसहित स्कुलका १३ जना विद्यार्थीले ३.६१ देखि ४ जिपिएसम्म ल्याए भने ११ जनाले ३.२१ देखि ३.६० सम्म जिजिए ल्याएका छन् । यस्तै, दुई जना विद्यार्थीले २.९५ देखि ३.२० सम्म जिपिए ल्याएको स्कुलका प्रिन्सिपल पंकज खड्काले जानकारी दिए । अब, जेम्स स्कुलका हरेक विद्यार्थीले श्रीजीको पथ अंगाल्ने प्रिन्सिपल खड्काको भनाइ छ ।
यसैगरी, स्कुलका डाइरेक्टर भेषराज पोखरेलले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै यस वर्षको एसइई परीक्षाको उत्कृष्ट नतिजाले त्यसको प्रमाण दिएको बताए ।
कार्यक्रममा स्कुलका अध्यक्ष डा. मनोजकुमार गुप्ता, स्कुल डाइरेक्टर पंकज साह, दिपेश भगत र श्रीजीकी आमा सुमना आचार्यको उपस्थिति रहेको थियो । विराटनगर महानगरपालिका–१ पोखरियास्थित जेम्स स्कुलमा हाल ६५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।