विराटनगर । राजतन्त्र पुनरस्थापनाको मागसहित शुक्रबार संघीय राजधानी काठमाडौंमा राजावादीहरूले शक्ति प्रदर्शन गरे । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक भएको मानव अधिकार आयोग स्वयमको ठहर छ ।
हुन त राजावादी पक्षका आन्दोलन कमान्डर भनिएका प्रसाईँलाई आज भएका घटना–परिघटनाको मुख्य जिम्मेवार ठहरसमेत गर्दै सरकारले पक्राउ गर्न आदेशसमेत दिइसकेको छ । त्यसबाहेक सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि आजको तोडफोड, आगजनी र लुटपाटपमा जिम्मेवार ठहर गरेको छ । तथापि, पूर्वराजालाई पक्राउ गर्ने विषयमा भने सरकारको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।
आज राजावादीहरूले काठमाडौंको तीनकुने, कोटेश्वर, त्रिभुवन विमानस्थललगायतका क्षेत्रमा आगजनी, लुटपाट, तोडफोड र सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए । तीनकुनेस्थित रोयल बैंक्वेट नजिकैको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए । जसमा परेर एक जना पत्रकारको मृत्युसमेत भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।
त्यस्तै, प्रदर्शनकारीहरू प्रहरीको घेरा तोडेर बानेश्वरतिरसमेत जान खोजेका थिए । त्यसमा प्रसाईं आफैँ द्रुत गतिमा कार हाँकेर निषेधाज्ञा तोड्न तम्सिएका थिए । आसपासका आन्दोलनकारीलाई अघि बढ्न हौस्याउँदै उनले प्रहरी घेरासमेत तोड्न पुगेको भिडिओमा देखिन्थ्यो । आसपासका घर तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी र पसलहरूमा लुटपाटसमेत भएको थियो ।
प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका थिए । प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।
त्यसैगरी, राजावादी प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाए । समाचार संकलनका लागि सिनामंगल क्षेत्रमा खटिएको हिमालयन टेलिभिजनको बा १९ च ८९६३ नम्बरको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका थिए । यस्तै, विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण दिनभरिजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवरुद्ध भएको थियो ।
काठमाडौँको तीनकुने क्षेत्रमा तनाव भएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको थियो । त्यसअघि नै जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार दिउँसोबाट निषेधाज्ञा (कफ्र्यू) जारी गरेको थियो । अझ, राजावादी प्रदर्शन हिंसात्मक भएपछि सरकारले प्रहरीलाई गोली चलाउनसमेत आदेश दिएको थियो । जसक्रममा एक आन्दोलनकारीको मृत्यु भएको थियो । प्रहरीले चलाएको गोली घाँटीमा लागेर कीर्तिपुर बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो ।
यता, गृह मन्त्रालयले राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भन्दै अब सरकारले संयम नराख्ने प्रस्ट पारेको छ । राजावादी आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरू दुर्गा प्रसाईंको नेतृत्वमा अराजनीतिक भीड भएको गृह मन्त्रालयका प्रवक्ता छवि रिजालले बताए ।