विराटनगर । सुनसरीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सुनसरीको गढी गाउँपालिका-४ धुरा टोलस्थित छिटाहा-विराटनगर भित्री पक्की सडकखण्डमा छिटाहाबाट साह टोल जाँदै गरेको प्र१-०२-०४५प ५००१ नम्बरको मोटरसाइकल बसमा ठोक्किएको थियो ।
सोही दिशातर्फ रोकी राखेको प्र२-०१-००१क ००५१ नम्बरको बसमा मोटरसाइकल पछाडिबाट ठक्कर खाई दुर्घटना हुँदा चालक सोही स्थानका २५ वर्षीय प्रमोदकुमार मेहता गम्भीर घाइते भएका थिए ।
उनको ढाड र शरीरको विभिन्न भागमा भित्री चोट लागेपछि उपचारको लागि विराट नर्सिङ अस्पताल विराटनगर ल्याइएकोमा उपचारको क्रममा बिहानका राति ०२:५० बजे मृत्यु भएको हो ।
साथै सोही मोटरसाइकलमा पछाडि सवार अन्दाजी २२ वर्षीय अरबिन्द मेहताको बाँया हात र निधारमा चोट लागेको छ ।
उनलाई जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचारपश्चात थप उपचारको लागि नोबेल अस्पताल विराटनगर ल्याइएको छ ।
मोटरसाइकल, बस र बस चालक जिल्ला सप्तरी डाकनेश्वरी नगरपालिका ९ बस्ने ४२ वर्षीय दीपककुमार मण्डल इलाका प्रहरी कार्यालय छिटाहाको नियन्त्रणमा छन् ।
तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।