विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले करारमा २५ जनाका लागि जागिरको अवसर खुला गरेको छ ।
बुधबार एक सूचना जारी एक सूचना जारी गर्दै उपमहानगरपालिकाले करार र मासिक ज्यालादारीमा जागिर खुलाएको हो ।
सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म दर्खास्त दिन सकिने जनाएको उपमहानगरपालिकाले स्थानीयलाई प्राथमिकतामा राखेर जागिरको अवसर खुला गरेको हो ।
उपमहानगरलाई मासिक ज्यालादारी सेवामा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका चार जना मेडिकल अधिकृत चाहिएको छ ।
उक्त पदमा आवेदन दिन चाहनले एमबिबिएस उत्तीर्ण गरी मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ ।
यस्तै, चार जना ल्याब असिस्टेन्ट, एक जना बिल्डिङ एन्ड आर्किटेक र एक जना स्ट्रक्चरल गरी दुई जना इन्जिनियर, एक जना सुवेदार, एक जना जमदार, दुई जना हवल्दार, आठ जना सिपाही र दुई जना सवारी चालक गरी १० जना अग्नि नियन्त्रक, एक जना रोडरोलर अपरेटर चालक, एक जना भारी सवारी चालक र चार जना सहजकर्ताका लागि जागिरको अवसर खुलेको हो ।
मासिक ज्यालादारी सेवा रहन चाहने इन्जिनियरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने अरू पदका लागि ४० वर्षसम्मका उम्मेदवारले फारम भर्न पाउने छन् ।
तोकिएको शैक्षिक योग्यता पूरा गरी सम्बद्ध कार्यमा अनुभव प्राप्तलाई ग्राह्यतामा राखेर जागिर खुलाएको इटहरी उपमहानगरपालिकाले आगामी माघ ९ गतेसम्म आवेदन भर्न सकिने जनाएको छ ।
