विराटनगर । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ५३ वर्षीय याद बहादुर बुर्जा मगर र बारा पचरौता नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय संजय साह बानिया रहेका छन् ।
उनीहरूले विदेश पठाइदिन्छु भन्दै पीडितहरूबाट झन्डै १० लाख असुलेका थिए ।
पक्राउमध्ये याद बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट पाँच लाख ७५ हजार रूपैयाँ र संजयले साइप्रस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन बनेका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले याद बहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र संजयलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।