विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-५ तीनपैनीस्थित हसिना सिमसार तथा पर्यटकीय क्षेत्रमा सफाइ तथा वृक्षरोपण कार्यमा समाजसेवी अभिषेक गिरी पनि सरिक भएका छन् ।
विगत दुई महिनायता जारी उक्त सामाजिक कार्यअन्तर्गत शनिबार भएको झाडी फडानी तथा वृक्षारोपण कार्यमा गिरी सरिक भएका हुन् ।
पछिल्लो समय कोशी सुधार अभियानमा सक्रिय रहेका गिरीले हसिना सिमसार उपभोक्ता समितिबाहेक पनि स्थानीयले सिमसार क्षेत्रमा आगन्तुकको साख फर्काउनेगरी गर्नथालेको अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको सुनाए ।

साथै उनले सिमसारमा तत्काल आवश्यक पर्ने डस्टबिन आफ्नो गिरी फाउन्डेसनको तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता दिए ।
‘यहाँका स्थानीयले सक्रियताका साथ सफाइ र वृक्षरोपण अभियान चलाउनु भएको रहेछ, यसमा सघाउन पाउँदा धेरै खुसी लागेको छ,’ उनले भने, ‘अब यहाँ केही थान डस्टबिन चाहिएको भन्नुभएको छ, त्यो म मेरो फाउन्डेसनमार्फत उपलब्ध गराउँछु ।’
यस्तै, गिरीले विश्वमा बढ्दो तापक्रम वृद्धिलाई मध्यनजर गरेर सबैले आ-आफ्नो घर-समुदायवरपर बिरुवा रोप्न सुझाव दिए ।
यसैगरी, हसिना सिमसार उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेले आफूहरूले अनावश्यक झाडी फडानी गर्ने र त्यहाँ वृक्षारोपण गरिरहेको बताए ।
हरेक शनिबार हुने यो अभियानमा समाजसेवीद्वय गिरी र सिजन गुरुङको सहभागिताले थप हौसला प्रदान गरेको सुनाए ।
‘यहाँ आएर समाजसेवी गिरीले डस्टबिन सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ, यसबाट हामीलाई औधी खुसी लागेको छ,’ उनले भने ।
कार्यक्रममा सरिक भएका समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता सिजन गुरुङले हसिना मात्र नभएर सबैतिर वृक्षारोपण कार्यक्रम गर्न आवश्यक रहेको सुनाए ।
पर्यावरणीय सुधारमा सक्रिय बनेमा मानव अस्तित्व जोगाउन अझ सजह हुने उनको भनाइ छ ।