विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ मा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
बुधबार साँझ ७ः३० बजेतिर इटहरी-१२ रिलायन्स फ्याक्ट्रि गेट अगाडि भएको दुर्घटनामा इटहरी-१३ बस्ने ६५ वर्षीय रामप्रसाद घिमिरेको मृत्यु भएको हो ।
कोशी लोकमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्र१-०१-००१च ७६५५ नम्बरको रातो कलरको कारले पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेका साइकलयात्री घिमिरेलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम ल्याइएको थियो ।
सोही कारमा सवार मानिसले घाइते घिमिरेलाई एम्बुलेन्समा राखेर उपचारको लागि विराटनगर ल्याएका थिए । तर, कार चालक इटहरी-१२ का ३७ वर्षीय पूर्णबहादुर कार्की भने भागेका थिए ।
यता, घाइते घिमिरेको उपचारका क्रममा राति ८:५५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तत्काल फरार रहेका कार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले कार तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको औंल्याएको छ भने कागजपत्र र मादक पदार्थ सेवन गरे-नगरेको भने खुलेको छैन ।