काठमाडौं । राजनीतिशास्त्री एवम् प्राध्यापक कृष्ण पोखरेलद्वारा लिखित ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक भएको छ ।
शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित सार्वजनिकीकरण एवम् अन्तरक्रिया कार्यक्रम प्राध्यापक पोखरेलको पुस्तक विमोचन गरिएको हो ।
तीन दशकभन्दा बढी प्राध्यापक सेवामा संलग्न रहेका उनले सात दशकको राजनीतिक, झापा विद्रोह हुँदै नेपाली समाजमा भोगेका अनुभवलाई पुस्तकमा लिपिबद्ध गरेका छन् ।
प्राध्यापक पोखरेलले सात दशकभन्दा लामो अनुभवलाई सँगालेर पुस्तक लेख्दै गर्दा आफ्नो कुनै पूर्वयोजना नरहेको प्रस्ट पारे ।
शिखा बक्सले प्रकाशन गरेको पुस्तकमा उनले ‘पूर्वयोजनाबिनाको जिन्दगी’ शीर्षक सुरुआत गर्दै राजनीतिक क्रान्तिका विभिन्न आयाम प्रस्तुत गरेका छन् ।
राजनीतिशास्त्रमा पुस्तक प्रकाशित भइसके पनि आफ्नो भोगाइबारे यो नै पहिलो पुस्तक भएको बताउँदै उनले झापा विद्रोहदेखि राजनीतिक अभियानमा होमिएका धेरै राजनीतिज्ञसँग सहकार्य एवम् सँगसँगै काम गरेको स्मरण गरे ।
पुस्तकमा वामपन्थी राजनीतिमा अहिले सक्रिय नेतासँगको सहकार्य पुस्तक वर्णन गरिएको उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीसहित समकालीन राजनीतिकका धेरै राजनीतिज्ञको सहयात्रालाई पुस्तकमा समेटिएको छ ।
झापा, मोरङ र काठमाडौँसम्मको प्राध्यापकमा आफ्ना भोगाइसँगै राजनीतिमा देखिएका अनेक प्रश्न र तत्कालीन समाजको अवस्थालाई उनले प्रस्तुत गरेका छन् ।