विराटनगर । देशकै नमूना खानेपानी आयोजनाका रूपमा चिनिएको मानगढ खानेपानीको चुनाव नजिकिएसँगै उम्मेदवारहरू घरदैलोमा व्यस्त बनेका छन् । आसनन्न निर्वाचनलाई लक्षित गरी अध्यक्षसहित विभिन्न पदका उम्मेदवारहरू अहिले उपभोक्ताको घर–घर पुगेर भोट मागिरहेका छन् ।
मोरङको विराटनगर महानगरपालिका १, ३ र ४ गरी तीनवटा वडा र बुढीगंगा गाउँपालिका १ नम्बर वडामा पानी वितरण गर्दै आएको यस खानेपानी आयोजनाको चुनाव जेठ १९ गते हुँदै छ । अध्यक्षसहित नौ जना पदाधिकारीका लागि हुने चुनावमा कुल ६ हजार नौ सय ८८ उपभोक्ताले मतदान गर्न पाउने छन् । एक जना अध्यक्ष, महिला र खुल्लामा एक–एक गरी दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा एक–एक जना निर्वाचित हुँदा सदस्यका रूपमा पुरुष र महिला दुई–दुई गरी चार जना निर्वाचित हुने व्यवस्था छ ।
आगामी पाँच वर्ष आयोजनाको नेतृत्व हत्याउने लक्ष्यका साथ अध्यक्ष पदका लागि एकै दलमा आस्था राख्ने दुईसहित तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । अध्यक्षसहित कार्यसमितका लागि अरू दलसँगको गठबन्धनमा नेकपा एमालेबाट दुई उम्मेदवार चुनाव लड्दैछन् । वर्तमान अध्यक्षसमेत रहेका एमालेका रामबहादुर घिमिरे र एमालेकै लालमणि भट्टराई पनि अध्यक्ष बन्ने ध्याउन्नमा छन् । तथापि, एमालेले कसैलाई पनि आधिकारिक उम्मेदवार मानेको छैन ।
घिमिरे समूहबाट उम्मेदवारी दिनेमा महिला उपाध्यक्षमा देवीमाया बाँस्तोला, खुल्ला उपाध्यक्षमा कौशिल्या बञ्जारा, सचिव नगेन्द्र (विवेक) ढकाल, कोषाध्यक्ष अन्नपूर्ण पोखरेल छन् । महिला सदस्यमा इश्वरीकुमारी भट्टराई र मेनुका आचार्य, खुल्ला सदस्यमा भीष्मप्रसाद भेट्वाल, टंकप्रसाद पाठक छन्।
घिमिरे २६ वर्षयता सोही खानेपानी आयोजनाको नेतृत्वकर्ताको भूमिकामा छन् । आफ्ना अधुरा काम सम्पन्न गर्नेगरी पुनः एकपटक अध्यक्षको आकांक्षी बनेको उनी बताउँछन् ।
भट्टराई समूहबाट उम्मेदवारी दिनेमा महिला उपाध्यक्ष सावित्राकुमारी न्यौपाने, खुल्ला उपाध्यक्ष बुद्धीप्रसाद पौडेल, सचिव प्रदिपकुमार नेपाल, कोषाध्यक्ष हिरण्य निरौला छन् । महिला सदस्य अज्जु तिम्सीना, शान्ति बस्नेत रिजाल, खुल्लामा तुलसीप्रसाद दाहाल र टंक पाठक छन् । लामो समयदेखि आयोजाको नेतृत्व गरेको समितिले पानीको गुणस्तर सुधार्न नसकेको, पारदर्शिताको जनगुनासो सम्बोधन गर्न नसकेपछि आफू आगामी कार्यकालका लागि चुनावी मैदानमा होमिएको अर्का उम्मेदवार लालमणि भट्टराई सुनाउँछन् । नयाँ समितिको अपेक्षा राखेका उपभोक्ताको इच्छा पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
मानगढ खानेपानी आयोजनाका कुल उपभोक्तामध्ये आधाभन्दा धेरै उपभोक्ता महिला छन् । र, खानेपानीसँग महिलाको सम्बन्ध ज्यादा हुने तथा गुणस्तरका विषयमा महिलामा नै बढी ज्ञात हुने भन्दै दुर्गा चापागाईं पनि अध्यक्ष बन्ने होडमा छिन् । नेपाली कांग्रेसकी दुर्गा यसअघि दुईपटक कार्यसमितिमा बसेर संगालेको अनुभवलाई अध्यक्षका रूपमा सदुपयोग गर्ने लक्ष्यमा छिन् । जारको पानी प्रयोग गर्नुपर्ने बाध्यता टार्न र भूमिहीन, सुकुम्बासी तथा विपन्न वर्गलाई पनि सुलभ खानेपानीसँग जोड्ने आफ्नो योजना रहेको सुनाउँछिन् ।
चापागाई समूहबाट उम्मेदवारी दिनेमा महिला उपाध्यक्ष सावित्रा पोखरेल, खुल्ला उपाध्यक्ष भोला घिमिरे, सचिव पवन भट्टराई, कोषाध्यक्षमा राजेन्द्रकुमार पोखरेल (राजन) छन्। महिला सदस्यमा संगीता कटुवाल आचार्य, यशोदा कार्की र खुल्लातर्फ मातृकाप्रसाद कोइराला र राजकुमार राजवंशी छन् ।
अन्य उम्मेदवारमा खुल्ला उपाध्यक्षमा रूद्रबहादुर कार्कीलगायत छन् । सचिव खड्गप्रसाद शर्मा कट्टेल, कोषाध्यक्ष सरोज घिमिरे छन्। महिला सदस्यमा लक्ष्मी घिमिरे (रेग्मी), खुल्ला सदस्यमा तारानाथ कट्टेल, सुनिल घिमिरे, चुडामणी खतिवडा र राजु पौडेल छन् ।
आ–आफ्नै प्यानल बनाएर योजना, चुनावी प्रतिबद्धता बोकेका उम्मेदवार ‘गाना–बजाना’सहित घर–घर पुग्दा खानेपानीको नभएर संसदीय निर्वाचनको झल्को आउँछ । मतदातालाई आफ्नो पक्ष र कित्तामा ल्याउन विभिन्न प्रयास र उपाय गरिरहेका उम्मेदवारहरू नेतृत्व गर्न हानाथाप गरिरहँदा उपभोक्ता अर्थात् मतदातामा प्रसन्नता छाएको छैन । उनीहरूले जुनै नेतृत्व आउँदा पनि आफूअनुकल कर्मचारी भर्ना गरेको, खानेपानीको गुणस्तरमा ध्यान दिन नसकेको गुनासो उपभोक्ता लक्ष्मी भण्डारीको छ ।
२०५४ सालमा ८९ हजार रुपैयाँबाट सुरु भएको यो परियोजनाको भौतिक सम्पत्ति साढे चार अर्ब पुगेको छ । भौतिक र उपलब्धी बढ्दै जाँदा यसपटक राजनीतिक हस्तक्षेप भएको अनुमान लगाउन सकिन्छ ।