विराटनगर । वर्षका दुई महिना चैत्र र वैशाख वसन्त ऋतुअन्तर्गत पर्दछन् । वसन्त ऋतुलाई मौसमी अनुकुलताको ऋतुको रुपमा पनि लिइन्छ । अर्थात, न धेरै गर्मी, न धेरै जाडो, ठीक्कको मौसम ।
तर, यसपटकको वसन्त ऋतुको मध्यमै देशैभरिको तापमान उच्च बनेको छ । वैशाख महिनाको सुरुवातसँगै बढेको अचाक्ली गर्मीका कारण आम सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।
वायुमण्डलीय तापक्रम वृद्धिसँगै सुरु भएको गर्मीका पछिल्लो दुई सातायता पूर्वी तराईको जनजीवन प्रभावित बनेको हो ।
जलवायु परिवर्तनको असरका कारण यसपटक वैशाखको सुरुवातदेखि नै अत्याधिक गर्मी हुन थालेपछि जनजीवन प्रभावित बनेको हो ।
प्रि–मनसुनको समयमा हुनुपर्ने गर्मी दुई महिना अगावै महसुस हुनुलाई वातावरण क्षेत्रका जानकारहरूले पनि जलवायु परिवर्तनको संशयको रूपमा लिएका छन् ।
कार्बनडाइअक्साइड उत्सर्जनमा वृद्धि भएर जलवायुमा आएको अस्वभाविक परिवर्तनका कारण प्रत्येक वर्ष पृथ्वीको तापमान बढ्दै गएको वातावरण क्षेत्रका जानकारहरुले बताएका छन् ।
उनीहरूका अनुसार आगामी वर्षसम्म दक्षिण एशियाका केही मुुलुकहरुमा गर्मीयामको औसत तापमान ५० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
यसले समग्र जैविक प्रक्रियामै असर पुर्याई गर्मीकै कारण मानिसको मृत्यु समेत हुनसक्ने जोखिम निम्त्याईरहेको उनीहरूको भनाइ छ ।
जलवायु परिवर्तनकै प्रभाव स्वरुप यसपटक वैशाख महिनाको सुरुवातसँगै मौसमी तापमान अस्वभाविक रुपमा वृद्धि हुँदै गएको छ ।
पूर्वी तराईमा पछिल्लो दुई सातायता गत वैशाख ११ गते सबैभन्दा बढी ३९ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विराटनगर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलवायु परिवर्तनसँगै उत्पन्न बेमौसमी गर्मीका कारण पछिल्लो समय अस्पतालमा बिरामीहरुको चाप समेत बढेको छ ।
कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएको देखिएको चिकित्सकहरूले बताएका छन् ।
उनीहरूका अनुसार अस्पतालमा ‘लु’ तथा झाडापखाला, ज्वरो तथा रुघाखोकी र मान्छे बेहोस हुने लगायतका समस्या लिएर आउने बिरामीको संख्या एक्कासी बढेको छ ।
यस्तो अवस्थामा आफ्नो स्वास्थ्य सुरक्षाका निम्त्ति प्रशस्त मात्रामा पानी पिउने, छाला छोपिने गरी लुगा लगाउने र अत्यावश्यक कार्य बाहेकको अवस्थामा घर बाहिर ननिस्कने लगायतका उपायहरू अवलम्बन गनुपर्ने उनीहरूको सुझाव छ ।
कोशी प्रदेशको विराटनगरमा आज आइतचबारको अत्याधिक तापमान भने ३८ डिग्री सेल्सियस मापन गरिएको छ ।
यो तापमान आगामी केही दिनसम्म अझ बढ्नसक्ने अनुमान जल तथा मौसम विज्ञान विभागको छ ।