विराटनगर । विराटनगरमा अवस्थित रेडियाे नागरिकका प्रबन्ध निर्देशक अरविन्द मेहता सम्मानित भएका छन् ।
मोरङका पत्रकारहरूको सक्रियतामा १२ वर्षअघि सञ्चालनमा आएको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटिडले आइतबार मेहतालाई सम्मान गरेको हो ।
संस्थाको साधारणसभाको अवसर पारेर उनलाई उत्कृष्ट बचतकर्ताका रूपमा सम्मानित गरिएको हो । सोही समारोहमा पत्रकार नरेन्द्र दाहाल पनि सम्मानित भएका छन् ।
डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले दुवै जनालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सञ्चार सहकारीले प्रत्येक वर्ष साधारणसभामा एक जना उत्कृष्ट ऋणि र बचतकर्तालाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख मगरका साथै पत्रकार महासंघ कोसी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगाना, सञ्चार सहकारीका पूर्वाध्यक्ष मोहन भण्डारी, अध्यक्ष दीपक दाहाल र उपाध्यक्ष मोहन भण्डारी र लेखा समितिका संयोजक अविनाश नीधिले कार्यक्रमको उपदेयताका बारेमा प्रकाश पारे ।
एक सय १४ जना सेयर सदस्य रहेको यो सहकारीले आर्थिक वर्ष ०७९/८० मा ६ लाख १८ हजार तीन सय ३५ खुद मुनाफा गरेको छ ।