काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविसँग सम्बन्धित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
आरोपितमा तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनाल, लेखापाल ठकबहादुर बुढाथोकी लगायत अन्य कर्मचारीहरू रहेका छन्।प्रअ खनाल र लेखापाल बुढाथोकीविरुद्ध जनही करिब १० लाख ७५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ भने अन्य कर्मचारीहरूमाथि पनि लाखौं रकम बराबरको बिगो माग गरिएको छ।
त्यस्तै, दाङस्थित डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्डका सञ्चालक शिवप्रसाद श्रेष्ठविरुद्ध पनि करिब ७ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रविधिमैत्री कक्षा निर्माण कार्यक्रमअन्तर्गत खरिद गरिएको सामग्रीमा नक्कली बिल भौचर बनाएर भ्रष्टाचार गरिएको आरोप छ।