धेरैजसो मान्छेका लागि आज पनि सफलताको अर्थ कर्पोरेट अफिसमा जागिर, मोटो तलब र लग्जरी कार-बंग्ला हो । तर भारतको बैंग्लोरका ३७ वर्षीय राकेश बी पालको कथा यस अर्थलाई चुनौती दिने खालको छ ।
एप्पल जस्तो विश्वप्रसिद्ध कम्पनी र ठुला बैंकहरूको जागिर छोडेर मानसिक शान्तिको खोजीमा निस्किएका उनले अहिले बैंग्लोरका सडकहरूमा अटो चलाउँदै आएका छन् । पैसा नै सबैथोक होइन भन्ने मानसिकतालाई प्रशय दिँदै राकेशले रोजेको दैनिकीले यतिबेला उनलाई चर्चाको शिखरमा ल्याइपुर्याएको छ ।
अरू मानिसले मरिहत्ते गर्ने एप्पल कम्पनीमा लाखौँको तलब खाएर विलासी सुविधा भोग गर्दै आएका राकेशका लागि पनि कुनै बेला यो जागिर ठुलो सफलता थियो । तर, त्यो खुसी विस्तारै हावाले बालुवा उडाए झैँ घट्दै गयो । उनी तलब त खान्थे, तर आफ्नो कामको आफू मालिक थिएनन् । उनको हरेक दिनको काम माथिल्लो हाकिमलाई खुसी बनाउनु हुन्थ्यो । र, पनि उनि आफू गुलाम भएसरह अनुभूत गर्थे ।
एउटा कान कम सुन्ने राकेशलाई होच्याइन्थ्यो । आफ्नो मेहेनत अनुसार कहिल्यै बढुवा पाएनन् । घरबाट टाढा । बुवासँगको बिग्रँदो सम्बन्ध, न श्रीमतीसँग सानिध्यमा रहन पाउनु । यी सबैले उनलाई डिप्रेसनमा डोहोर्याउँदै लग्यो । विदेशी भूमिमा एक्लोपनले गाँज्दै लग्यो । एकदिन जब उनले ऐना अघि उभिएर आफूलाई नियाले, हिजोको राकेशले आजको राकेशलाई चिन्न सकेनन् । आजको राकेश औषधिले आफ्नो मानसिक पीडा भुलाइरहेको थियो, ऊ फेरिएको थियो ।
त्यसैबेला अचानक उनले एप्पलको जागिर छोड्ने कठोर निर्णय गरे । त्यसपछि पनि उनले ठुला बैंक र कम्प्युटर बनाउने कम्पनीहरूमा काम गरे । तर त्यहाँ पनि उनको मन अडिएन । आफूलाई एक्लो अनि मेसिनको एउटा पार्टका रूपमा अनुभूत गर्न थालेका थिए । उनलाई लाग्थ्यो कर्पोरेट वर्ल्डमा मान्छेहरू प्रयोगमात्र हुन्छन् । यहाँ अरूलाई खुसी पार्नका लागि आफ्नै पहिचान गुमाउनुपर्ने रहेछ भन्ने उनलाई लाग्थ्यो ।
त्यसपछि भने उनी सबै कुरा छोडेर स्वदेश फर्किए । तर, छँदाखाँदाको जागिर छोडेर घर फर्किएपछि पारिवारिक र वैवाहिक जिन्दगीमा तनाव आइपर्यो । मानसिक रूपमा विक्षिप्त भएको महसुस गर्न थालेपछि उनले अस्पताल नै भर्ना हुनुपर्यो । डिप्रेसनको औषधिमा निर्भर हुनुपरेपछि व्रत बसेर उनले आफ्नो तौल घटाए । मुए थाई र मार्सल आर्ट्ससम्म सिके उनले । शारिरीक फिटनेसका लागि गरेको कामबाट उनले राज्यस्तरीय च्याम्पियनसिपमा सिल्भर मेडल जिते । जसबाट उनमा हराएको आत्मविश्वास पुन जागृत भएर आयो ।
अलिकति केही रकम भने उनले जोहो गरेर राखेका थिए । आफ्नो सोही बचत पैसाबाट अटो किनेर अटो चलाउन थालेका उनी फेरि एकएक चर्चामा छन् । कुनै पनि कामलाई सानो नसम्झिएका उनी आफ्ना सहकर्मीहरूलाई खुशीको तुलनामा पैसा ठुलो होइन भने पाठ पढाउँछन् । अहिले उनीसँग जागिरको जस्तो धेरै पैसा नहोला तर जिन्दगी जिउन पुग्नेगरी खुशी छ । जागिर खाँदा जस्तो एक्लो हुनुपरेको छैन, साथीभाइ छन् ।
अटो चालक बन्नुअघि पुनः उठ्छु भन्ने साहस लिएर राकेशले साना भनिएका धेरै काम गरे । उनले फुड डेलिभरी गरे भने कहिले बाइक ट्याक्सी चलाए । जिम सफा गर्ने र ट्वाइलेटसम्म सफाइ गर्ने काम उनले गरे । चार वर्षको कठोर संघर्षपछि अहिले उनी बैंग्लोरमा इलेक्ट्रिक अटो चलाउँछन् । खाली समयमा पेन्टिङ गर्छन् र डान्स जस्तो आफूले इच्छा लागेको काम गर्छन् ।
एप्पजस्तो अफिसबाट बैंग्लोरको सडकसम्मको यो यात्राले यो साबित गर्छ कि वास्तविक स्वतन्त्रता ठुलो पदमा होइन । बरु आफूले इच्छाएको काम गर्न अनि मनको शान्तिका साथ जिउनुमा छ ।