बिर्तामोड । झापाको दक्षिणी क्षेत्र जलथलको चारकोसे झाँडीभित्र फेरि एउटा वयस्क जंगली हात्ती मरेको अवस्थामा फेला परेको छ।
बिहीबार दिउँसो करिब साढे ३ बजे कचनकवल गाउँपालिका–७ स्थित ज्योति सामुदायिक वन समूहभित्र भाले प्रजातिको जंगली हात्ती मरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
डिभिजन वन कार्यालय र प्रहरीको टोलीले मृत हात्तीको आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ ।
मृत फेला परेको हात्तीको दाह्रा सकुशल रहेकाले विषाक्त खानाका कारण मरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने डिभिजन वन कार्यालय झापाले जनाएको छ ।