महोत्तरीको बर्दीबासस्थित नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टरले स्थानीय पत्रकारहरुलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम दिएको छ ।
गत बैशाख २२ देखि शुरु भएको चारदिने तालिम शुक्रबार सकिएको पृतना कार्यालयले जनाएको छ ।
समापन कार्यक्रममा नेपाली सेनाका मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी भूवन खत्रीले अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरे ।
यस अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ४ वटा एफ.एम. रेडियो स्टेसनहरूलाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र पनि प्रदान गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा ११ जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध २७ जना सञ्चारकर्मीको सहभागितामा थियो ।
कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रमकै बीचमा सहभागी पत्रकारहरुलाई बारा जिल्लाको सिम्रौनगढस्थित रानिवास दरबार र कलैयास्थित ऐतिहासिक पार्कको स्थलगत भ्रमणसमेत गराइएको थियो ।