विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा कोशी प्रदेश ओपन गल्फ टुर्नामेन्ट हुने भएको छ ।
कोशी गल्फ एसोसिएसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रायोजनमा दोस्रो संस्करणको उक्त प्रतियोगिता आयोजना हुने भएको हो ।
आगामी शनिबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको धरान गल्फ क्लबमा आयोजना हुने कोशी प्रदेश गल्फ एसोसिएसनका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका खेलाडी तथा पोखरा र भारतको सिलिगुरीलगायतबाट ८० भन्दा बढी एमेटुएर, महिला, सिनियर र जुनियर खेलाडीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा ग्रस तथा नेट विजेता र उपविजेता, नियरेस्ट द पिन, लङेस्ट ड्राइभ , महिला विजेता, जुनियर विजेता, सिनियर विजेतातर्फ प्रतिस्पर्धा हुने बताइएको छ ।
धरान गल्फ क्लब सहयोगी संस्था रहेको उक्त प्रतियोगिताका विजेताले आकर्षक ट्रफी पाउने अध्यक्ष प्याकुरेलले जानकारी दिए ।