काठमाडौं । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा मंगलबार काठमाडौँ आइपुगेका छन् ।
खट्टर संखुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गरेका छन् ।
संखुवासभाको मकालु गाउँपालिकामा रु एक खर्ब चार अर्बको भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
यसैगरी नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित काठमाडौँमा आज हुने सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा मन्त्री खट्टर सहभागी हुने छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटघाट गर्ने छन् ।
नेपाल भ्रमणका क्रममा उनले मुस्ताङ र पशुपतिनाथको समेत धार्मिक यात्रा गर्ने छन् ।