काठमाडौं । नेपाल मगर विद्यार्थी संघको केन्द्रीय समितिको अधिवेशन स्थगित भएको छ । शनिबार र आइतबार दुई दिनका लागि बोलाइएको १२औं अधिवेशन लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित भएको हो ।
महाधिवेशनको उद्घाटनसत्र नेपाल मगर सघंका केन्द्रीय अध्यक्ष ज्ञानबहादुर पुन मगरले गरेका थिए । महाधिवेशन नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर संघका विभिन्न व्यक्तित्वहरूले मन्तव्य राखेका थिए ।
संगठनको विगत वर्तमान र भविष्यका गतिविधि एजेन्डाहरूको बारेमा नेमविस केन्द्रीय समितिका पदाधिकारीहरूले आफ्नो धारणा राखेका थिए ।
तथापि, रात छिप्पिँदै जाँदा बन्दसत्र सुरु भएकाले अधिवेशनमा शंका गर्नुपर्ने ठाउँ धेरै देखिएको भन्दै असन्तुष्ट पक्षले आवाज उठाएका थिए ।
जसकारण प्रतिनिधि छनोट तथा अन्य प्रदेश तहको अधिवेशनमा भएको समस्या बाहिरिँदा विवाद उत्कर्षमा पुगेर अधिवेशन स्थगन हुन पुगेको हो ।
आयोजक समितिले रातको ३:३४ अधिवेशन स्थगित भएको घोषणा गरेको थियो । र, बिहान ८ बजेबाट सुरु हुने भनिएको थियो ।
तर, भोलिपल्ट मध्याह्न १२:५६ बाट मात्रै सुरु भएको थियो । बन्दसत्र सुरु भएलगत्तै आर्थिक हिनामिना प्रतिनिधि एक्लौटीलगायतका समस्यामा छलफल भए पनि विवाद सामान्य नै थियो ।
तर, रातको ८ बजे निवार्चन मण्डलले एकाएक अपुरो नामको सूची सार्वजनिक गदै निवार्चन घोषणा गरेपछि पश्चिम र पूर्वका केही प्रदेशका प्रतिनिधि तथा पदाधिकारीहरूले आ-आफ्नो माग राख्दै कुर्सी तोडफोड गरेका थिए ।
त्यसबाहेक उनीहरूले किताब च्यात्ने र अन्य केही सामानहरू तोडफोड गरेपछि अधिवेशन विवादको अत्यन्तै उत्कर्षमा पुग्यो ।
त्यसपछि सभाहल अशान्त भएको थियो भने विभिन्न नेतृत्व तहका विद्यार्थी नेताहरूद्वारा प्रदर्शन सुरु भएको थियो ।
अनेकौं विवादपछि आइतबार बिहानको ६ बजे महाधिवेशन अनिश्चित कालका लागि स्थगित भएको थियो ।