विराटनगर । स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित एक जना भारतीय नागरिकलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ ।
आज दिउँसो करिव २ बजेतिर भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार रहेका श्रीवास्तवलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँ बरामद भएको डीएसपी जोशीले बताए ।
उनका अनुसार श्रीवास्तवको साथबाट नेपाली ५ सय रूपैयाँ दरको ४ सय र १ हजार रूपैयाँ दरको ५ सय थान नोट बरामद भएको छ ।
अवैध रकम बरामद भएपछि श्रीवास्तवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
श्रीवास्तवलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ ।
श्रीवास्तवलाई उक्त नोट कहाँबाट ल्याएका हुन् भन्ने यकिन भइसकेको छैन ।
प्रहरी निरिक्षक प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।
बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ ।