दुहबी । जनकल्याण प्रतिष्ठान द्वारा सन्चालित एकल विद्यालय अभियानको आचार्य वर्ग प्रशिक्षण सोमबारदेखि सुरु भएको छ ।
सुनसरी र मोरङका ५०/५० जना गरी जम्मा १०० जनलाई आचार्य प्रशिक्षण दिइ दीक्षित आचार्यबाट विपन्न तथा गरिब परिवारका नगरबासीलाई घर-घर मै पुगेर शिक्षा दिने उद्देश्यले उक्त प्रशिक्षण सुरु गरिएको हो ।
दुहबी नगर प्रमुख वेदनारायण गच्छादारले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय पचिरामा हिजोदेखि सुरु भएको प्रशिक्षण सात दिनसम्म चल्ने छ । कोशी प्रदेश संयोजक योगमाया न्यौपानेको अगुवाइमा सुनसरी जिल्ला संयोजक आशा माझीले प्रशिक्षणको ब्यवस्थापन गरेकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गच्छादारले विद्यालयको पहुँचभन्दा टाढा रहेका विद्यार्थीहरूलाई विद्यालय आफैं विद्यार्थीको घर पुगेर शिक्षा दिनु शैक्षिक न्याय हो भन्दै यसको थालनी एकल विद्यालय अभियानले गरेको बताए ।
आफूले पढेर आफ्ना लागि आवश्यक सुविधाको खोजी र भोगी हुनुभन्दा आफूले पढेर सिकेको ज्ञानबाट समाजमा विभेदित र पीडितको पक्षमा लगानी गर्नु समाज रूपान्तरण र आर्थिक न्याय हुने बताउँदै उनले जनकल्याण प्रतिष्ठानले एकल विद्यालय अभियानमार्फत सामाजिक न्यायको काम गरेको बताए ।
२०५२ साल मा धादिङको एक गाउँबाट सुरु भएको एकल विद्यालय अभियान हाल देशभर ५६ जिल्लामा २२ सय शाखाहरू सञ्चालनमा रहेका छन् ।