काठमाडौं । सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले दोस्रो प्रयासपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
यसअघि धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर गत माघमा सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे पनि प्रधानमन्त्री ओलीसँग भेट्न पाएका थिएनन् ।
तर, सोमबार दोस्रो प्रयासपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ओलीसँग भेट गरेका साम्पाङले प्रधानमन्त्रीबाट आश्वासनसमेत पाएका छन् ।
ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी साम्पाङलाई गराएका थिए । धरानबासीलाई खानेपाली पुर्याउने प्रक्रिया अघि बढेकोबारे प्रधानमन्त्रीले जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्ने बताउँदै ओलीले यो सन्देश धरानबासीलाई सुनाइदिन हर्कसमक्ष आग्रह गरेका छन् ।
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि संघीय सरकारले तयार गरिसकेको छ । यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिएका थिए ।