काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् ।
सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ ।
पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उनलाई समवेदना फिल हुनुपर्दैन ? भन्दै उनले प्रश्नसमेत गरे ।
राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भए पनि गणतन्त्रले महिला राष्ट्रपति बनाएको उनले उल्लेख गरे ।
राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिलाई सुधार गर्दै जानुपर्ने बताउँदै उनले २०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलमा दलको नेतृत्व परिवर्तन हुने दाबी गरे ।
तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ ।