विराटनगर । मोरङको विराटनगर महानगरपालिका-९ स्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।
स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गर्दै विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले बिदाइ गरेको हो ।
कोशी प्रदेशसभा सदस्य तथा कलेजका अध्यक्ष भीम पराजुली र प्रिन्सिपल ज्ञानबहादुर खड्काले १६औं ब्याचका विज्ञान र १७ औं ब्याचका व्यवस्थापन संकायका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरे ।
एक हजार एक सय ३५ जना विद्यार्थीहरूलाई बिदाइ गरिएको प्रिन्सिपल खड्काको भनाइ छ ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफलताको शुभकामना दिए ।
‘विद्यालयमा सिकेको ज्ञान व्यवहारमा उतारेर विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्नुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु,’ प्रिन्सिपल खड्काले भने, ‘आगामी दिनको सफलताको विद्यार्थीहरूलाई शुभकामना पनि दिन चाहन्छु ।’
कार्यक्रममा व्यवसंस्थाप संकायका को–अडिनेटर शंकर भट्टराई, निर्देशक शैलेन्द्र शिवाकोटी, रमेशकुमार मण्डल, राजेन्द्रप्रसाद यादव, डा. विमल श्रीवास्तव र ललित नारायण मन्दर, रामचन्द्र पौडेललगायतले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले आत्मविश्वासका साथ परीक्षा दिएमा सधैँ उत्कृष्ट नतिजा आउने बताए । पछि जुनसुकै समयमा विद्यार्थीलाई कलेजले अध्ययनलगायत हरेक कुरामा सहयोग गर्ने पराजुलीको प्रतिबद्धता छ ।
सोही अवसरमा कलेजले लिएको आन्तरिक तथा हिसान परीक्षामा ६० प्रतिशतभन्दा माथि ल्याउने विद्यार्थीलाई करिब ७० लाख बराबर नगद पुरस्कृतसमेत गरिएको थियो ।