विराटनगर । हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै विराटनगरका प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएकी किशोरीले विराटनगर महानगरपालिका-१५ घर भई कोशी प्रदेश प्रहरी गणमा कार्यरत साह थरका प्रहरी जवानविरुद्ध जाहेरी दिएकी हुन् ।
विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपसहित १९ वर्षीया किशोरीले इलाका प्रहरी कार्यालय बिर्तामोड झापामा किटानी जाहेरी दिएकी हुन् ।
उनले जाहेरीमा आफूलाई बिहेको आश्वासन दिएर गत भदौमा सुरुंगास्थित होटल क्विन प्यालेसमा भेट्न बोलाएको र बलात्कार गरेको उल्लेख गरेकी छन् । उनीहरूबीच २०८१ साल जेठदेखि फेसबुकमा चिनजान भएको थियो ।
सामाजिक सञ्जालमा नै साहले ती किशोरीलाई विवाह गर्ने आश्वासन दिएपछि भेटघाट हुने गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।
जाहेरीअनुसार साहले किशोरीलाई गत भदौ ७ गते सुरुगांमा भेट्न बोलाएका थिए । कोठामा छिरेलगत्तै शाहले जबरजस्ती अँगालो हालेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
भेटका क्रममा रात परिसकेको भन्दै होटलमै बस्न भनेको उनको भनाइ छ । आफू घर फर्किन खोज्दा ‘तिमीलाई एक्लै छोड्दिनँ, केही हुँदैन’ भन्दै होटलमा राखेको जाहेरीमा उल्लेख छ ।
प्रहरीले भने यस विषयमा अनुसन्धान थालेको जनाएको छ । तथापि, अहिलेसम्म पक्राउ पुर्जी जारी नभएको प्रहरीले जनाएकाे छ ।
झापाका पत्रकार र अधिकारकर्मी गुहारेकी ती किशोरीले साहले बिहे नगर्ने भनेपछि आफूले धेरै पटक आत्महत्याको प्रयास गरेकोसमेत बताएकी छन् । उनले केही दिनअघि पत्रकारसँग कुरा गर्दै उनले आफूलाई केही दिनसम्म बिहेको आश्वासन दिएको बताइन् ।