विराटनगर । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित एक होटेलबाट अमेरिकी नागरिकलाई अपहरण गर्ने एक महिला परेकी छन् ।
सोमबार अमेरिकन राहदानी वाहक ७० वर्षीया वृद्धा अपहरण परेकी थिइन् । उनलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट अपहरण मुक्त गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो ।
ती वृद्धालाई अपहरण गरेको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका-४ बस्ने ३७ वर्षीया सरिता लामालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी गराएपछि ती महिलासहित लामालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
उनका अनुसार अपहरणमा पर्नेमा भारतीय मूलको अमेरिकी नागरिक रहेकी छन् ।
आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेकी थिइन् ।
अपहरणपछि तीन लाख युरो फिरौती माग गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको थियो ।
पक्राउ परेकी लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।