धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल चार वर्षदेखि अलपत्र छ । ८९ लाख लिएर ठेकेदार बेपत्ता हुँदा चार वर्षदेखि पुल अलपत्र बनेको हो ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा एक वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी करोड २१ लख ८६ हजार ८ सय १३ रुपैयाँमा वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको थियो ।
२०७७ साउन १३ गते १ भएको सम्झौताअनुसार ठेकेदार ८९ लाख ५० हजार १ सय ७३ रुपैयाँ रकम भुक्तानी लिएर बेपत्ता भएका छन् । चार वर्ष बित्दासमेत पुल नबन्दा स्थानीयले सास्ती खेप्न बाध्य छन् ।
स्थानीयको विरोधपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले उक्त पुलको अवस्थाको अनुगमन गरेका थिए ।
जसक्रममा तत्काल काम सक्न निर्देशन दिने र अटेर गरे ठेक्का तोड्नेसमेत स्थानीयबासीलाई मन्त्री राईले आस्वसन दिए ।
धरान–५ लेदुवा खोलामा बन्दै गरेको १६ मिटरको पुल ५ नं.वडावासीलाई मात्र नभई यो पुलले वडा नं.४ का वडावासीलाई पनि जोड्ने गर्दछ ।
उक्त पुल नबनेको कारण स्वास्थ्य, शिक्षा, कृषि लगायतमा ४ र ५ कै स्थानीयबासीहरूले सास्ती खेप्नु परेको वडाध्यक्ष मनप्रसाद लिम्बुले बताए ।
यहाँका कतिपय स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा वडाको कामलगायतमा बर्खा याममा जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता रहेकोले यो पुलबाट स्थानीयवासीले धेरै आशा राखेको भए पनि समयमा ठेकेदारले काम नसक्दा झनै समस्या भएको वडाध्यक्ष लिम्बुले बताए ।
पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ यता वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीका ठेकेदार पशुपति बरालले चाँडै सुरु गर्ने जनाएको छ ।
उक्त खोलाका कारण धरान–५ को जरेआहाल, मुक्तिला, निशान डाँडाका स्थानीयहरूले उत्पादन गरेको सागसब्जी, दूध लगायत धरान बजारसम्म ल्याउन नसक्ने स्थानीय राज कुमार राईले बताए ।
यस खोलाको असर धरान–४ का केही क्षेत्रका बासिन्दाहरूमा परे पनि प्रत्यक्ष मार भने धरान–५ का बासीहरूलाई पर्ने गरेको छ ।
विद्यालय जाने विद्यार्थीहरू, दुखविमार हुँदा अस्पताल लैजाँदा समेत ज्यानै जोखिममा राखेर खोला तार्नुपर्ने बाध्यता समेत रहेको स्थानीयवासी नर बहादुर मगरले बताए ।