चितवन । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द लेखिएको विषयमा सिडिओले स्पष्टीकरण सोधेका छन् ।
सोमबार मध्यान्न करिब एक घन्टाभन्दा लामो समय ‘केपी चोर देश छोड’ लेखिएको विषयलाई लिएर चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले स्पष्टीकरण सोधेका हुन् ।
देशका प्रधानमन्त्रीविरुद्ध लेखिएका आपत्तिजनक नारा सरकारी निकायकै डिजिटल बोर्डमा कसरी डिस्प्ले भएको विषय अहिले सामाजिक सञ्जालमा छरपष्ट छ ।
कार्यालय समयभित्रै यस्तो हुन गएको कारणबारे विद्युत प्राधिकरण भरतपुरले कुनै पनि औपचारिक सूचना बाहिर ल्याएको छैन ।
यो विषयमा विरोध जनाउन मंगलबार बिहान करिब १० बजे एमालेका युवाहरु विद्युत कार्यालयमा ध्यानाकर्षण पत्र लिएर गएका थिए ।
त्यस क्रममा नेकपा एमाले निकट युवा संघ तथा अनेरास्ववियु चितवनका कार्यकर्ताहरु कार्यालय प्रमुख रामु श्रेष्ठविरुद्ध खनिएको र हातपातसमेत गरेको आरोप लागेको छ ।
श्रेष्ठले आफूलाई युवा संघका कार्यकर्ताले आफूलाई हातपात गरेको बताए । आफूले कुटाइ खाएको र कार्यालयसमेत तोडफोड गरिएको उनको भनाइ छ ।
पनि युवा संघका विद्यार्थीहरूले कुटेको जानकारी आएको बताएका छन् । उनले कार्यालय प्रमुख श्रेष्ठलाई बाहिरी चोट भने नभएको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार प्राधिकरण भरतपुर वितरण केन्द्रले डिजिटल बोर्डका विषयमा कुनै आधिकारिक धारणा दिएको छैन ।
‘हामीले स्पष्टीकरण सोधेर पठाएका छौँ, प्राधिकरणले जवाफ पठाइसकेको छैन,’ उनले भने ।
कसले हाल्छ बोर्डमा कन्टेन्ट ?
विद्युत प्राधिकरण भरतपुरको डिजिटल बोर्डमा विद्युत प्राधिकरण भरतपुरले नै कन्टेन्ट हाल्ने गरेका छन् । कार्यालय प्रमुख श्रेष्ठसँग नै बोर्डको कन्टेन्ट हाल्ने पासवर्ड हुन्छ ।
तर, हिजो दिउँसो कार्यालय समयमा नै गएको कन्टेन्ट आफूले नहालेको प्रमुख श्रेष्ठले बताएका छन् ।
उनले आफू बाहेक कार्यालयका एक जना इन्जिनियरसँग पनि डिजिटल बोर्डको पासवर्ड रहेको बताए । कार्यालय समयमा प्रधानमन्त्री लक्षित कन्टेन्ट पासवर्ड ह्याक गरेर हालिएको दाबी उनले गरेका छन् ।