काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारविरुद्ध लागि परेको बताएका छन् ।
मंगलबार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भए पनि विरोधीहरू सपना साकार पार्न नदिन लागि परेको उनको आरोप छ ।
वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको उनले बताए ।
प्रतिपक्षहरू कसरी आफू बच्ने र सरकार र अरूलाई बद्नाम गर्ने भन्नेमा लागेको आरोप उनले लगाए ।
देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा आफ्नो ध्यान रहने उनले उल्लेख गरे ।
“हामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्प बोकेका छौँ । हामीले देशको विकास गर्नुपर्नेछ । अनावश्यक कुरामा हामीलाई अल्झाउन खोज्छन्, हाम्रो ध्यान डाइभर्ट गर्न खोज्छन् । हामी आफ्ना विषयमा, आफ्ना काममा केन्द्रित हुन्छौँ । र आफ्ना देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा हाम्रो ध्यान छ,” उनले भने ।
प्रधानमन्त्री ओलीले ०४६ सालको परिवर्तनपछि देश तिब्र गतिमा अघि बढिरहेको उल्लेख गरे ।
विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधार नगरी विकास गर्न नसकिने उनले बताए ।