सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताएको छन् ।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए ।
यसअघि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । र, घिसिङले जवाफ पनि लेखेका थिए ।
तर, उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदबाट हटाउने निर्णय भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै गत साउनबाटै उनलाई पदबाट हटाउने चर्चा चलेको थियो ।
योबीचमा ऊर्जामन्त्रीस्तरीय निर्णयबाट तीनपटक घिसिङलाई स्पष्टीकरण सोधिएको थियो ।
आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले ऊर्जा मन्त्रालयबाट हटाउन नमिल्ने जवाफ घिसिङले दिएका थिए ।
त्यसपछि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । घिसिङको पदावधि आगामी साउनमा सकिँदै थियो ।