बाँके । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ ।
आइतबार अपरान्ह स्थानीय नौरीगौढी ईंगलिश मेडियम स्कुलबाट पढेर घर फर्कंदै गरेका दुईजना बालकलाई भे १ ख १४१७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।
ट्यांकरको ठक्करबाट दुबैजना बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुने बालकमा विशालकुमार गोडिया र शिवकुमार गोडिया रहेको जानकारी प्राप्त भएको छ ।
आक्रोशित भएका स्थानीयले साइकललाई ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन् ।
प्रहरीका अनुसार सो घटनाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरिरहेका छन् ।
साथै, ट्यांकर चालकलाई बेतहनी प्रहरी चौकीमा राखिएकोले केही स्थानीयले चौकी घेरेर चौकीमाथि ढुंगा प्रहार गरेका छन् ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा त्यहाँ पुगेको प्रहरी टोलीमाथि पनि स्थानीयले ढुंगा प्रहार गरेको र चौकीमा समेत ढुंगा हानेकोले सो नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको सूचना आएको पनि प्रहरी प्रवक्ता डिएसपी पातलीले बताए ।
दुर्घटनामामा मृत्यु भएका बालकको शव अझै घट्नास्थलमै रहेको छ भने बेतहनी चोक र सो वरिपरि ठुलो संख्यामा स्थानीय भेला भएका छन् ।
ट्यांकरका चालकले मादक पदार्थ सेवन गरेको र उनले ट्यांकरलाई ब्याक गरेर बालकलाई मारेको आरोप बालकका पिता हरिद्धार गोडियाले लगाएका छन् ।