हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ९ र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सिमानामा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने पैदलयात्रीसँग चन्द्रागिरि हिल्सले ट्याक्स असुली गर्दै आएको छ ।
राष्ट्रिय वनभित्र रहेको पैदलमार्गमा चन्द्रागिरि हिल्सले यात्रीसँग प्रतिव्यक्ति एक सय रुपियाँका दरले रकम असुली गर्दै आएको हो ।
मकवानपुर, चित्लाङको वनक्षेत्रमा पर्ने धार्मिक र ऐतिहासिक मन्दिरमा पुग्ने पैदलयात्रीसँग प्रवेश पासबापत रकम असुली गरिँदै आएको छ ।
यहाँको पैदलमार्ग हुँदै आवतजावत गर्ने यात्रीले गरेको फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि भन्दै राष्ट्रिय वनको बिचमा चेक पोस्ट राखेर पैसा असुली गर्ने गरिएको हो ।
मकवानपुरको थाहा नगरपालिका–९ का वडाध्यक्ष राजकुमार बलामीले चन्द्रागिरि हिल्सले वनभित्र रोकेर पैदलयात्रीसँग पैसा असुल्ने कार्य गलत भएको बताए ।
यसअघि पनि पैसा असुलेको थाहा भएपछि रोकिएको थियो, अहिले फेरि पैसा असुल्नु गलत रहेको उनको भनाइ छ ।
त्यस्तै चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं ४ नं. वडाध्यक्ष कृष्णप्रसाद खड्गीले वनभित्र पैसा असुल्न नपाइने बताए ।
मन्दिर जाने ठाउँमा रोकेर पैसा असुल्नु गलत भएको उनले स्पष्ट पारे ।
थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा उहिल्यैदेखि हिन्दु धार्मिक मान्यता अनुसार भालेश्वर महादेवको पूजा गर्न चन्द्रागिरि जाने गरेका छन् ।
चन्द्रागिरिबाट काठमाडौँ उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको ऐतिहासिक सन्दर्भ पनि छ ।
काठमाडौँ उपत्यकामा चढाइँ गर्नुअघि पृथ्वीनारायणले भालेश्वर मन्दिरमा पूजापाठ गरेको भनाइ छ ।